किशोर प्रधान समुहको नेपालगञ्जमा भव्य कार्यक्रम ,, पुर्व अध्यक्ष, निवर्तमान अध्यक्ष, र उम्मेदवार भन्छन ‘व्यवसायिक हकहीतका लागि गोल्छा र प्रधान नेतृत्व नै सक्षम’

काठमाण्डौ,मङ्सीर ५ । किशोर प्रधान समुहको नेपालगञ्जमा भव्य कार्यक्रम, पुर्व अध्यक्ष, निवर्तमान अध्यक्ष, र उम्मेदवार भन्छन ‘व्यवसायिक हकहीतका लागि गोल्छा र प्रधान नेतृत्व नै सक्षम’
नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधान समूहले आफ्नो चुनावी अभियान नेपालगञ्जमा सम्पन्न गरेको छ । ३५ वटा जिल्ला नगरका अध्यक्ष र सहभागी भएको यो भेलालाई प्रधान समूहले आफ्नो अन्तिम भेला भनेको छ ।महासंघको आगामी अध्यक्ष शेखेर गोल्छाले समेत आफ्नो समूह भन्ने गरेको प्रधान प्यानलमा जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, बस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र एसोसियट उपाध्यक्षमा सौरभ ज्योति उम्मेद्वार छन् ।

शेखर गोल्छालाई धम्क्याउनु गलत – पशुपति मुरारका, निवर्तमान अध्यक्ष
कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले हुनेवाला अध्यक्षले चाहेको समूहलाई निर्वाचन जिताउनुपर्ने बताए । उनले आगामी अध्यक्ष शेखर गोल्छालाई काम गर्न दिन्न भनेर पूर्व अध्यक्ष चण्डीराज ढकालले विधान विपरितको बोली बोलेको आरोप लगाए । निवर्तमान अध्यक्षका हैसियतमा आफू महासंघको हरेक बैठकमा पुगेपनि डेढ वर्षसम्म कुनै कुरा नबोलि फर्किएको भएपनि जब विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्षलाई अध्यक्ष बन्नबाट रोक्ने बहस सुरु भयो त्यसपछि आफू सक्रिय भएको उनको भनाई छ ।
‘शेखर गोल्छाले के अपराध गरेका छन् र हटाउँछु भनेर धम्की दिईन्छ ?’ मुरारकाले भने, ‘पहिला वरिष्ठ उपाध्यक्ष स्वतः अर्को कार्यकालमा अध्यक्ष बन्ने विधान अनुसार मतदान गरेर जिताएका मतदाताको अपमान हुने गरी अहिले अध्यक्षका रुपमा काम गर्न दिन्न भनेर धम्क्याउने काम राम्रो होइन ।’
गोल्छाले किशोर प्रधानको समूहलाई आफ्नो समूह भनेकै कारण अध्यक्षले चाहेको समूहलाई निर्वाचनमा विजयी गराउनुपर्ने मुरारकाको भनाई छ ।

अध्यक्षले चाहेको समूहलाई सहयोग गरेको हुँ – कुश कुमार जोशी, पूर्व अध्यक्ष
महासंघका पूर्व अध्यक्ष कुश कुमार जोशीले महासंघको आगामी नेतृत्व सम्हाल्ने तयारीमा रहेको गोल्छा आफ्नो ‘भिजन पेपर’ बनाउने अभियानमा रहेको जानकारी गराएका छन् । उनले सो भिजन पेपरलाई कार्यसमिति, प्रदेश समिति, जिल्ला समिति र हरेक नगर समितिसहित पूर्व अध्यक्षहरुलाई पनि देखाएर पारित गराउने र देशैभरका उद्योगी व्यवसायीका एजेण्डा एउटै बनाउने अभियानमा गोल्छा लागेका कारण आफूले उनले चाहेको समूहलाई सहयोग गरेको बताएका छन् ।
उनले सहमतिमा नै नेतृत्व चयन हुनुपर्ने भएपनि चन्द्र ढकालले ‘मेरो गोरुको बाह्रै टक्का’ गरेका कारण सहमतिको वातावरण भाँडिएको पनि बताए ।
‘म भए हुन्छ, अर्को भए हुँदैन भनेर वार्ताको टेवलमा बसेर सहमति हुन सक्दैन’ जोशीले भने, ‘एउटा उम्मेद्वार पूर्व अध्यक्षहरु बस्नुहोस् जे निर्णय गर्नुहुन्छ मलाई मान्य छ भन्नुहुन्छ, अर्को उम्मेद्वार म अगाडी बढिसकेँ अब पछाडी फर्किन्न भन्नुहुन्छ । यसरी आफ्नो स्वार्थलाई केन्द्रमा राखेर संस्थाको हित हुन सक्दैन, पछाडी फर्किनै सक्दिन भनेका कारण सहमतिको प्रयास सफल हुन सकेन ।’

व्यवसायीको सम्मान दिलाउने पहिलो काम – किशोर प्रधान, वरिष्ठ उपाध्यक्षका उम्मेद्वार
हाल महासंघको जिल्ला नगर उपाध्यक्ष एवम् असन्न निर्वाचनको लागि वरिष्ठ उपाध्यक्षका उम्मेद्वारका किशोर प्रधानले आफूले करदाता र रोजगारदाताको सम्मानका लागि लड्ने बताएका छन् । करदातालाई वडा सदस्यभन्दा तल्लो वरियतामा राखिनु दुःखद भएको भन्दै प्रधानले जिल्ला महासंघको अध्यक्षलाई राज्यमन्त्री सरह र जिल्ला अध्यक्षलाई सांसद पछिको वरियता दिलाउन आफूले लविङ गर्ने बताए ।
‘मेरो पहिलो काम अध्यक्षलाई झण्डा हल्लाएर गौरवका साथ हिड्न सक्ने बनाउनु हो’ प्रधानले भने, ‘केन्द्रमा अध्यक्षको वरियता मिलेपछि जिल्ला र नगरमा पनि सोही अनुसारको प्रोटोकल बन्छ ।’
‘यवसायी लुट्ने बैंकविरुद्ध लड्छौँ’
दिनेश श्रेष्ठ –  जिल्ला नगरतर्फका उपाध्यक्ष उम्मेदवार
आसन्न निर्वाचनमा जिल्ला नगर उपाध्यक्षका उम्मेद्वार दिनेश श्रेष्ठले उद्योगी र व्यवसायीहरु बैंकबाट ठगिने गरेको गुनासो गरेका छन् । बैंकहरु विगतका जमिनदार जस्तो भएको भन्दै उनले व्यवसायी र उद्योगीहरुलाई पीडा दिने बैंकहरुविरुद्द लड्ने प्रण गरेका छन् ।
‘कर, भ्याटका समस्या जहाँको त्यही छन्, बैंकहरु नाफामुखी मात्रै भएका छन्’ उनले भने, ‘जमिनदार जस्ता बैंकहरु विरुद्द लडेर व्यवसायीको हितमा काम गर्ने र हरेक जिल्लाका साथीहरुको गुनासो २४ घण्टाभित्र सम्बोधन गर्ने कामलाई मैले पहिलो प्राथमिकतामा राखेको छु ।’

ध्रुबे हात्तीको आतंक अत्ति भयो – अरुणराज सुमार्गी, केन्द्रीय सदस्यका उम्मेद्वार
महासंघका केन्द्रीय सदस्य एवम् आगामी निर्वाचनमा पनि खुला तर्फबाट केन्द्रीय सदस्यका उम्मेदवार अरुणराज सुमार्गीले महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाललाई ‘धुर्बे हात्ती’ को संज्ञा दिएका छन् । सुमार्गीले ध्रुबे हात्तीले एक जनालाई बोकेर चुनाव जिताउने ठेक्का लिने र वर्षौसम्म महासंघमा सेवा गरेकाहरु बाहिरिनुपर्ने बाध्यतालाई अब चिर्नुपर्ने बताए ।
‘महासंघमा एउटा ध्रुबे हात्ती छ’ सुमार्गीले भने, ‘ध्रुबे हात्तीले चुनाव जिताउने ठेक्का लिने प्रवृत्तिका कारण ५० प्रतिशत हकदार भएर पनि जिल्ला नगरबाट आजसम्म आनन्दराज मुल्मीबाहेक अरु व्यक्ति महासंघको नेतृत्वमा पुग्न सकेका छैनन् ।’

‘एउटा ३ दशक लामो महासंघमा सेवा गरेको किशोर प्रधान हुनुहुन्छ, अर्कोतिर पैसा र पावरको दम्भमा चुनाव जित्छु र जिताउछु भनेर हिडेको ध्रुबे हात्ती छ’ किशोर प्रधान समूहको चुनावी प्रचारप्रसार संयोजकसमेत रहेका सुमार्गीले थपे, ‘अब यो ध्रुबे हात्तीको आतंक धेरै दिन सहनुपर्ने छैन ।’
आगामी मंसिर ११, १२ र १३ गते महासंघको ५४ औँ साधारणसभा हुँदैछ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv