पूर्वपश्चिम राजमार्ग आज पनि अवरुद्ध
११ मंसिर, बर्दिवास । महोत्तरी जिल्लाकाे बर्दिवास नगरपालिका स्थित पूर्वपश्चिम राजमार्ग आज पनि अवरुद्ध भएको छ । ६ वर्षकी बालिका हत्या प्रकरणमा प्रहरीको गोली लागेर मृत्यु भएको विरोधमा बिहीबार बिहानैदेखि बर्दिबासमा स्थानीयहरुले प्रदर्शन गरिरहेका छन् ।
सम्पूर्ण बजार ठप्प रहेको छ । पूर्वपश्चिम राजमार्ग अवरुद्ध हुँदा छाेटाे तथा लामाे दुरीमा यात्रा गर्ने यात्रुहरू मारमा परेका छन् ।
बालिका हत्याको विरोध प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर बर्दिवास नगरपालिका वडानम्बर १ बस्ने ४० वर्षीय संजय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको हो ।
स्थानीयले घटनाकाे निष्पक्ष छानबिन,गोली चलाउन आदेश दिने प्रहरी तथा प्रहरी अधिकारीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।
मंसिर ७ गते आइतबारदेखि वेपत्ता भएकी ६ वर्षीया बालिकाको हत्या गरेर फालिएको अवस्थामा शव फेला परेको थियो ।
बस्तीबाटै हराएकी शहीद आलमकी ६ वर्षीय छोरी गुलाब साह खातुनको शव हत्या गरेर बोरामा राखेर झाडीमा फालेको अवस्थामा भेटिएको थियो ।
बालिका हत्या आरोपमा प्रहरीले गौशाला नगरपालिका ५ घर भई बर्दिवास नगरपालिका १४ बस्ने २५ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरिसकेको छ ।
हत्याको आरोप लागेका साहको घरमा आक्रोशित स्थानीयले आरोपी साहको घरमा आगजनी तोडफोडसमेत गरेका थिए । घर पूर्णरुपमा क्षति भएको छ ।
राजमार्ग क्षेत्रमा ठुलो संख्यामा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।