प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट पाँचौ लियाङुन फोरम मा सम्बोधन
काठमाण्डौं,मङ्सिर २४ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मित्रराष्ट्र चीनमा शुरु भएको पाँचौ लियाङुन फोरम मा प्रहरी प्रधान कार्यालयबाट भिडियो कन्फेरेन्सद्वारा बुधबार सम्बोधन गर्नुभएको छ ।
उक्त फोरममा सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले संगठित र बढ्दो अन्तरदेशीय अपराधको प्रभावकारी रोकथाम, नियन्त्रण र अनुसन्धानका लागि विश्वभरका कानुन कार्यान्वयन गर्ने निकायहरुबीच आपसी सहयोग र सहकार्य आवश्यक रहेको विचार व्यक्त गर्नुभयो । यस्तो फोरमको आयोजना र छलफलबाट विज्ञान र प्रविधिको विकाससँगै भित्रिएका नवीन सुरक्षा चुनौतीको सफलतापूर्वक समाधान गर्न सहज हुने धारणा समेत उहाँले व्यक्त गर्नुभयो ।
प्रहरी महानिरीक्षक थापा क्षेत्रीले साइबर अपराध, अन्तर्राष्ट्रिय संगठित अपराध, सीमा अपराध, मानव बेचबिखन, आर्थिक अपराध, लागूऔषध ओसारपसार जस्ता अपराधको नियन्त्रण गर्न यो फोरमको आयोजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास ब्यक्त गर्नुभयो । अपराध नियन्त्रणको क्षेत्रमा विद्यमान ऐन कानुनको अधिनमा रही सूचनाको आदानप्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्दै सवल साझेदारी स्थापनाका लागि हातेमालो गरी अघि बढ्न नेपाल प्रहरी सदैव तयार रहेको उहाँले बताउनुभयो ।
बिहीबार सम्पन्न हुने उक्त फोरममा ३० भन्दा बढी राष्ट्रका आन्तरिक मामिला मन्त्री, प्रहरी प्रमुख र प्रतिनिधिहरुले भिडियो कन्फेरेन्समार्फत सुरक्षा साझेदारी र सहयोग सम्बन्धमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । तस्बिर र समाचार श्रोत नेपाल प्रहरी